सरकार आयो

ठगुनी पासवानको गुनासो थियो कि सरकार उनको आँगनमा आएन । पञ्चायत ढलेको थाहा थियो । गणतन्त्र आएको थाहा थियो तर सरकार उनको आँगन टेकेको थाहा थिएन । जनताका लागि भनेर लडेका थुप्रै मान्छे सरकारमा गए । सरकारमा जानुअघि उनीहरूले वाचा गरेका थिए कि अबचाहिँ उनीहरूको जिन्दगी अवश्य बदलिनेछ किनकि सरकार उनीहरूको आँगनमा आउनेछ ।

ठगुनी रिसाएर भन्थिन्, ‘साले ठगहरू ! हामीजस्तो गरिबको आङ्नामा सरकार आउँदैन । आउने भए, आइसक्थ्यो ।’ उनले यो यसै भनेकी थिइन् । उनलाई पहिले त सरकार आउने कुरामा विश्वास थियो । एकएक गर्दै उनको विश्वास भत्किएपछि उनले रिसाएर सरकार आउने आस मारेकी थिइन् । तर, ठगुनीलाई चक्मा दिँदै सरकार उनको आँगनमा आएको थियो । फरक यत्ति थियो कि पहिले अनेकौं बिन्ती लिएर उनी सरकारसम्म पुग्दा पनि सरकार आएको थिएन । यसपटक भने उनले नबोलाईकन आएको थियो । तपाईंलाई लाग्ला, त्यसरी नबोलाईकन सरकार आउँदा त ठगुनीको खुसीको सीमा नहुनुपर्ने ! तर, जसरी ठगुनीको आँगनमा सरकार आयो, ठगुनीले चित् खाइन् ।

ठगुनीको घर सुकुम्बासी बस्तीमा छ । ६ छोराछोरीकी आमा ठगुनीको नाम मैले यहाँ कथा लेख्दा, पूरा नहुने सरकारी स्किमका बेला र मतदाता नामावलीमा मात्र प्रयोग भएको हो । ए, अनि सरकार आउँदा पनि उसले ठगुनी पासवानको पूरा नाम लिएको थियो । लोग्ने मरिसक्यो । तीन छोरीको बिहे भैसक्यो । दुई छोरामध्ये जेठो सुकुम्बासी बस्तीमै अर्को छाप्रो बनाएर छुट्टिएको छ । कान्छो छोरा र एक छोरीसहित ससुरा पनि ठगुनीकै जिम्मेवारीमा छन् ।

पञ्चायत ढाल्न भएको आन्दोलनताका ठगुनीको भर्खर–भर्खर बिहे भएको थियो । यो नयाँ–नयाँ बिहेको नयाँ–नयाँ प्रेमले एउटा फाइदा गर्‍यो । उनको बूढो रुदुवाले नयाँ दुलहीसँग संवाद बढाउन पनि दिनभर भएको आन्दोलन, गाउँको चोकमा भइरहेका चर्चाका कुरा सुनायो । ऊ एउटा गाउँ तहको कम्युनिस्ट नेताको सम्पर्कमा आएको थियो । त्यसपछिको माओवादी आन्दोलनले त उसलाई निकै उद्वेलित बनाएको थियो । उसले थोरै थोरै ठगुनीलाई पनि उद्वेलित बनाएको थियो । छुवाछुत सकिनुपर्छ भनेर संगठित भएको थियो । संयोगले सेना प्रहरीबाट बचेको उसको ज्यान पहिलो संविधानसभाको निर्वाचनको सालको वर्षामा चिप्लिएको थियो । टाउको ढुंगामा बजारियो र ऊ उठ्नै सकेन । त्यो बाटो बनाउने भनेर बहुदलपछिका धेरै सरकारले भनेका थिए । नेताहरूका भनाइ केवल चुनावी नारा हुन् भनेर न रुदुवाले बुझ्यो, न ठगनुीले ! तर, रुदुवाले सरकारले हाम्रा लागि केही गर्छ भन्ने ‘चेतना’ ठगुनीको मनमा राखिदियो । त्यही चेतना बोकेर ठगुनी आफ्ना समस्या बोकेर गाउँदेखि जिल्ला तहका सरकारकहाँ पुगिराख्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *