बानेश्वरको आइप्लेक्स मलमा मानिसको चहलपहल उस्तै छ जसरी कोभिडअघिका समयमा हुने गर्दथ्यो । पसलहरु खुलेका छन् । ग्राहकहरु आउने जाने क्रम जारी छ । पार्किङमा गाडी भरीभराउ छन् । पहिलाझैं अस्तव्यस्त देखिने यो महलमा खाली एउटा कुरा भने बन्द छ- मलभित्रको फिल्म हल ।
मलको होहल्लाबीच मौन रहेका हलहरुको चित्रण गर्छ यो वान सिनेमाजले । टिकट काउन्टर धुलाम्मे छ । हल प्रवेश द्वार खाली देखिन्छ । दर्शकको हाँसो, रोदन र ताली गुञ्जने हल चकमन्न छ । फुड काउन्टर आफैं भोकोजस्तो देखिन्छ । सँधै उज्यालो बत्तीहरु बलिरहने प्रतीक्षालय अँध्यारो छ । यहाँ दर्शकको आउजाउ नभएको ९ महिना भयो ।
सोमबार वान सिनेमाज पुग्दा केही मानिस हलको सरसफाइमा व्यस्त देखिन्थे । पीपीई सुटमा एकजना हलका सिटमा डिसइन्फेक्ट गर्दै गरेका भेटिए । ‘सरकारले हल खोल्न कहिले देला थाहा छैन तर हामी त तयार बस्नु पर्यो । भोलिबाट खोल भन्यो भने पनि खोल्ने भनेर तयार बसेको अवस्था हो यो,’ सरसफाइका काम नियालिरहेका वान सिनेमाजका म्यानेजर उमेशराज गिरीले बताए । उनका अनुसार हरेक हप्ता हलको सरसफाइ गरिन्छ । प्रोजेक्टर, जेनेरेटरको सर्भिसिङ हुन्छ । दर्शक बस्ने सिट र कार्पेटमा धुलो बस्न नदिन सरसफाइमा विशेष ध्यान दिइएको छ ।