पछिल्लो एक वर्षमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणले प्रायः सबै मुलुक र क्षेत्रलाई प्रभावित तुल्यायो । सन् २०१९ को डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएयता हालसम्म विश्वका ११ करोड २२ लाखभन्दा बढी मानिस यसको चपेटामा परे ।
जसमध्ये ६ करोड ३४ लाख जना निको भइसकेका छन् । झन्डै २ सय देशका २४ लाख ९० हजार जनाको मृत्यु भएको छ ।
विश्वस्तरकै स्वास्थ्य सेवा भएका तथा आर्थिक रूपमा शक्ति सम्पन्न मुलुकहरू अमेरिका, भारत, ब्राजिल, बेलायत, रुसलगायत नै यसबाट बढी प्रभावित बने । यसका लागि धेरै जनसंख्या हुनु, समयमै स्वास्थ्य सावधानी नअपनाइनु तथा एकैपटक धेरैमा संक्रमण हुँदा जनशक्ति र स्वास्थ्य संयन्त्रले नधान्नुलाई प्रमुख कारण मानिएको छ । कतिपय मुलुकका सरकारले यसलाई राजनीतिक विषयवस्तु बनाएर असंवेदनशील ढंगबाट प्रचार गर्दा पनि धेरैमा संक्रमण विस्तार हुन सघाउ पुगेको विभिन्न रिपोर्टहरूमा उल्लेख छ । केही यस्ता पनि मुलुक छन्, जहाँ बेलैमा स्वास्थ्य सावधानी अपनाइँदा हालसम्म संक्रमण देखिएको छैन ।
स्वास्थ्य क्षेत्रको सुदृढीकरण, भाइरस र खोप विकासमा अत्याधिक चासो र लगानी वृद्धि गरिएसँगै पछिल्लोपटक महामारीरोकथामका संकेतसमेत देखिएका छन् । धेरै मुलुकमा कोरोनाविरुद्धको खोप उत्पादन हुनुका साथै लगाउने कार्यसमेत थालिएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटी, अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी, युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल, सम्बन्धित मुलुकका सरकार एवं स्वास्थ्य विभाग तथा संयुक्त राष्ट्रसंघको आँकडाअनुसार हालसम्म विश्वका ४ करोड ३६ लाखभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् । ९० देशमा हाल खोप अभियान चलिरहेकोमा २१ करोड ६० लाख खोपको मात्रा खपत भएको छ । खोप अभियान थाल्नेमा ५७ वटा उच्च आय भएका र ३३ वटा मध्यम आय भएका मुलुक छन् । निम्न आय भएका कुनै पनि मुलुकमा खोप लगाउन सुरु नभएको बीबीसीले लेखेको छ ।