काठमाडौँ — १ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी अभिनेत्री बिपना थापा अहिले गुमनामजस्तै छिन् । उनी फिल्म क्षेत्रबाट टाढिएको पनि १४ वर्ष भइसक्यो । उनको अन्तिम फिल्म ‘वरमाला’ हो । उनी बिहेपछि फिल्म क्षेत्रबाट टाढिएकी हुन् । अहिले उनी नेपाल फर्किएकी छिन् । बिपनासँग ‘कमब्याक’, अभिनय र जीवनका विषयमा रीना मोक्तानले गरेको कुराकानी :
राम्रै भइरा’छ । पहिलोपटक २ वर्ष नेपालबाट टाढिएर बस्नु परेको थियो । कोरोनाले गर्दा गत वर्ष आउन सकिनँ । आफ्नो माइती आउँदाखेरी रमाइलै लागिरहेको छ । म वर्षमा २/३ पटक नेपाल आइरहन्थें । कोभिड त छँदै थियो, बीचमा पेटमा ट्युमरको समस्या भयो । ६ महिना बेड रेस्टमै थिएँ । त्यसकारणले २ वर्ष लम्बियो ।
यसपालि फिल्मी परिवारसँग पनि जमघट भयो ?
फिल्म क्षेत्रले तपाईंलाई माया मारेकै थियो त ?
थिएन । मलाई सामाजिक सञ्जालमार्फत् सम्झिरहने धेरै छन् । १४ वर्षपछि इन्डस्ट्रीको ठूलो कार्यक्रममा कसैले मलाई बोलायो । मेरो भन्नुको तात्पर्य यस्ता ठूला कार्यक्रममा मलाई सम्झेनन् भन्ने मात्र हो । सायद म यता नभएर पनि कतिले बोलाएनन् ।
अब फेरि फिल्ममा फर्किने कहिले त?
रियल लाइफमा म बुहारी, कसैको पत्नी, भाउजू, जेठानी रआमा हुँ । यिनै भूमिका निभाउँदा-निभाउँदै इन्डस्ट्रीबाट टाढा भएँ । अहिले बाबु कुसाग्र १० वर्ष पूरा भइसक्यो । अब त सबैले कमब्याककै कुरा गर्छन् । मेरो फ्यान, फिल्म उद्योगका साथीहरुले कमब्याक गर्न हौसला दिनुहुन्छ । इन्डस्ट्रीबाट हराउनु हुँदैन भनेर धेरैले गाली पनि गर्नुहुन्छ । टाढा हुने त मन थिएन तर वास्तविक जीवनमा धेरै भूमिकाहरु निभाउनु पर्ने थियो । गत वर्ष नै केही प्रोजेक्टमा प्रतिबद्धता जनाइसकेको छु । अहिले अरुमा पनि कुरा भइरहेको छ । हेरौं कुन फिल्म हुन्छ । कोभिडले गर्दा कुनै रद्द नै भए, कति पोस्टपोन्ड भए । फिल्मी माहोल ठीक भइसकेपछि पक्का म फिल्म गर्छु । निर्देशक बन्ने क्षमता छैन, निर्माताको रुपमा पनि आउन सक्छु । आगामि नोभेम्बर/डिसेम्बरमा एउटा प्रोजेक्ट गर्छु ।
नयाँ फिल्ममा कस्तो चरित्र गर्ने मन छ ?
मैले पहिलादेखि नै बिपना थापा हिरोइनभन्दा पनि कलाकार हो भन्ने प्रमाणित गर्न खोजें । म जुनसुकै भूमिका गर्न तयार छु तर त्यो चुनौतीपूर्ण हुनुपर्योो । मलाई हिरोइनकै भूमिका, आमा या दिदीको भूमिका चाहिन्छ भन्ने छैन । समाजमा छाप छोड्ने कुनै पनि भूमिका गर्न तयार छु ।
तपाईंको कमब्याकलाई परिवारको साथ छ कि छैन ?
म फिल्म गर्छु भन्दा पतिले ‘जाउ न त, बाबु हामी हेर्छौं’ भन्नुहुन्छ । म आमा भएको हुनाले मैले नै मेरो बच्चालाई छोड्न सकिनँ । त्यसैले बीचमा फिल्मलाई निरन्तरता दिइनँ । सासु त अझै मेरो सुटिङ हेर्ने रहर गर्नुहुन्छ ।
तस्बिरहरू : दीपेन्द्र रोका
प्राय: अभिनेत्रीहरु उमेर ढल्किएपछि फिल्मबाट हराउँछन् जबकि हिरोका लागि यही मापदण्ड लागू भएको देखिदैन । यसमा तपाईको टिप्पणी के छ ?
अभिनय कहिल्यै मर्दैन । चाहे अनुहारमा चाउरी परोस् कला जवान नै भइरहन्छ । त्यही भएर त कलाकार सँधै अमर हुन्छन् । हामी आमा, दिदी बहिनीको भूमिकामा देखियौंला तर अभिनयको उमेरसँग सम्बन्ध हुँदैन । म हिरोइनमात्रै होइन, कलाकार पनि हुँ । कलाकारले जुन चरित्रमा पनि अभिनय गर्न सक्छ । जस्तै गौरी मल्ल पहिला हिरोइन हुनुहुन्थ्यो, पछि सशक्त अभिनय गर्ने कलाकार हुनुभयो । त्यसपछि हाम्रो पिढीं आयो । अहिले स्वस्तिमा खड्का र साम्राज्ञीहरु आए । अब उनीहरुपछि पनि अरु आउलान् । आफूलाई कलाकारका रुपमा लिने व्यक्तिलाई कुनै भूमिकाले असर पार्दैन ।
पर्दामा ‘हिरोइन’को आयु छोटोचाहिँ हुँदो रहेछ हैन ?
हो, हिरोको भन्दा पनि हिरोइनको आयु छोटो हुँदो रहेछ । एउटा महिला जब विवाहित हुन्छे, उसको जिम्मेवारी धेरै बढ्छ । ती जिम्मेवारी निभाउँदा निभाउँदै कतिपय कुरामा पछाडि पर्छिन् महिला । आमा भइसकेपछि त सन्तानकै लागि कति कुरामा त्याग गर्नुपर्छ । त्यसैले पनि पर्दामा हिरोइनको आयु कम भएको होला !
अधिकांश अभिनेत्रीहरु बिहेपछि फिल्म क्षेत्रबाट टाढा भए । अभिनेत्रीहरुको करिअरलाई असर गर्ने बिहे नै हो खास कारण ?
करिश्मा मानन्धर बिहेपछि इन्डस्ट्रीमा सक्रिय हुनुभयो । म भने बिहेपछि टाढिएँ । बिहे हुनेबित्तिकै भारतको मथुरा वृन्दावनमा पुगें । यहाँ भइदिएको भए कसैलाई बाबु हेर्न लगाएर काममा फर्किन सक्थें होला । तर टाढा भएपछि सम्भव भएन । बिहेपछि एउटा नारीको दोस्रो जन्म हुन्छ । मेरो जीवनमा निभाउनु पर्ने धेरै जिम्मेवारी छन् । त्यसैले धेरै सोच्नुपर्ने हुन्छ । म एक गृहणी हुँ । बिहेको डेढ वर्षमा बाबु जन्मियो । गर्भवतीको समयमा धेरै गाह्रो भयो । फेरि बाबुलाई धेरै स्याहार चाहियो । त्यही भएर तुरुन्तै फिल्म गर्न पाइनँ । उता परिवारले मलाई नेपालको चर्चित हिरोइन भनेर नै चिन्नुहुन्छ । उहाँहरुले त मलाई फिल्ममा फेरि हेर्न चाहनुहुन्छ । परिवारबाट त्यस्तो कुनै छेकबार थिएन, देशबाट टाढा भएर निरन्तरता दिन सकिनँ । अरु हिरोइनको हकमा सीमा कोरियो होला । त्यो बेला निरुताले आफ्नो करियरबाट ब्रेक लिइन् । जल शाह बिहेपछि अमेरिका पुगिन् । मलाई त मेरै जिम्मेवारीले फिल्म इन्डस्ट्रीबाट टाढा बनायो । मेरो परिवार भारतकै भए पनि पढेलेखेका छन् ।
बिहेपछि फिल्म अफर त आए होलान् ?
निरन्तर आइरह्यो नि । अहिले पनि आइरहन्छ । तर, मेरो अगाडि दुई बाटो थिए । फिल्म इन्डस्ट्री रोजेर घरपरिवार छोड्नुपर्थ्यो, या त फिल्मबाट ब्रेक लिनुपर्थ्यो । परिवार मेरो जीवनको एउटा भाग हो । कलाकारले अभिनय त पछि पनि गर्न सक्छ भन्ने भयो । त्यसैले मैले परिवारलाई नै समय दिएँ ।
तपाईं फिल्ममा कसरी आइपुग्नु भएको थियो ?
सुन्धरामा सुटिङ भइरहेको थियो । सुटिङ हेर्ने दर्शकमा क्यामेरा घुमाउँदा निर्देशकले मलाई देख्नु भएछ । त्यसपछि मोहन निरौला सरले ‘तिम्रो क्यामेरा फेस राम्रो रहेछ, फिल्म खेल्छौ ?’ भनेर प्रश्न गर्नुभयो । मैले पनि परिवारलाई सोध्नुपर्छ भनें । छवि ओझा, मोहन सर घरमा आएर परिवारसँग कुरा गर्नुभयो । त्यसपछि मल ‘जन्मभूमि’ बाट कलाकार भएँ । त्यतिबेला म १४ वर्षको थिएँ । एउटी गर्भवती महिलाको भूमिका गर्नु थियो । त्यो फिल्म मेरो घर नजिकै सुटिङ भएको थियो । त्यो भूमिका निभाउँदा लाज लागेर म रोएकी थिएँ । त्यतिबेला बसुन्धरा भुसालले धेरै सम्झाउनुभयो । उहाँले सम्झाउनु भएपछि उक्त भूमिकाका लागि म तयार भएँ । त्यो भूमिकामा मेरो पहिलो सट फस्ट टेकमै ओके भएको थियो ।
पहिलो वर्ष नै ६ वटा फिल्ममा अभिनय गर्नुभयो ?
हो, एकै वर्षमा धेरै फिल्म गरेको भनेर बिजी अवार्ड पनि पाएकी थिएँ । ‘जन्मभूमि’पछि म निरन्तर फिल्ममा व्यस्त भएँ । १ सय ११ वटा फिल्म गरें। त्यो बेला दिनमा पाँचवटा फिल्मको सेड्युल हुन्थ्यो मेरो । बिहान ६ बजेदेखि १० सम्म एउटा । ११ देखि २ बजेसम्म अर्को । २ बजेदेखि ९ बजे अर्कै फिल्म । ९ बजेदेखि रातभर अर्को फिल्मको सुटिङ हुन्थ्यो ।
तपाईंलाई आफूले अभनिय गरेकामा मनपर्ने कुन-कुन हुन् ?
‘मुस्कान’, ‘माइली’ र ‘तँ त साह्रै नै बिग्रिस बद्री’। यी तीन फिल्ममा ३ सय फिल्ममा गर्ने फिल्मको भूमिका गरेकी छु मैले ।
त्यो बेलाको माहोल कस्तो थियो ?
त्यो बेला संघर्ष थियो । तर, सुटिङमा एउटा पारिवारिक माहोल हुन्थ्यो ।
अहिले फिल्म क्षेत्रमा के परिवर्तन देख्नुहुन्छ ?
खासै परिवर्तन त देख्दिनँ । नेपाली फिल्मको क्वालिटीमा भने धेरै परिवर्तन आएको छ ।
तपाईंले अन्तिमपटक हलमा हेर्नु भएको नेपाली फिल्म कुन हो ?
ऋचा शर्माको ‘सुनकेसरी’। युट्युबमा ‘छक्का पञ्जा ३’, ‘दालभात तरकारी’ पनि हेरिसकें ।
नेपाल आउँदा २/४ जना फिल्मका साथीलाई भेटिरहेकै हुन्छु । सामाजिक सञ्जालमा सबैसँग बोलिरहेकै हुन्छु । यसपालि नेफ्टाको अवार्ड कार्यक्रममा सहभागी हुन पाएँ । १४ वर्षपछि फिल्मी परिवारसँग भेट्न पाउँदा एकदमै खुशी लाग्यो । त्यो भेटले मलाई भावुक पनि बनायो । माया गर्ने व्यक्तिहरुलाई भेट्दा आँशु आउँदो रहेछ ।