यौन दुर्व्यवहारको विरोधमा अस्ट्रेलियामा देशव्यापी प्रदर्शन

यौन दुर्व्यवहार तथा लैंगिक हिंसा अन्त्यको माग गर्दै अस्ट्रेलियामा सोमबार हजारौंले देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी क्यानबेराका साथै सबै मुख्य सहरमा गरिएको प्रदर्शनका सहभागीले महिलामाथि हुने यौन दुर्व्यवहार र उत्पीडनविरुद्ध स्वतन्त्र छानबिन गरिनुपर्ने माग गरेका छन् । 

‘मार्च फर जस्टिस’ नामक संस्थाको अगुवाइमा भएको प्रदर्शनमा १ लाखभन्दा बढी महिला, पुरुष तथा बालबालिका सहभागी भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । करिब एक महिनाअघि संसद् भवनस्थित रक्षामन्त्री लिन्डा रेनल्डस्को कार्यालयमा काम गर्ने पूर्वकर्मचारी ब्रिटनी हिगन्सले सहकर्मीद्वारा बलात्कृत हुनुपरेको आरोप लगाएपछि यो मुद्दा अघि आएको हो । यसलगत्तै महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले करिब ३३ वर्षअघि एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि यो समस्या अझ चर्किएको हो ।

पोर्टरमाथि लागेको आरोपका सम्बन्धमा स्वतन्त्र छानबिन हुनुपर्ने माग उठे पनि अहिलेसम्म यसबारे कुनै आधिकारिक निर्णय गरिएको छैन । सोमबार देशैभरि आयोजित प्रदर्शनमा सहभागी महिलाले उक्त मुद्दाका विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने मागसमेत उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *