मोदीको बंगलादेश भ्रमणकाे विरोधमा प्रदर्शन : ४ जनाको मृत्यु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा शुक्रबार प्रदर्शन हुँदा बंगलादेशको चित्तगोंगमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । मोदीको भ्रमणको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदै ४ जनाको मृत्यु भएको छ भने केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरी अधिकारीहरुका अनुसार प्रदर्शनकारीहरुले प्रहरी चाैकीमा हमला गरेका थिए । झडपका क्रममा प्रहरीको रबर बुलेट र अश्रुग्यासबाट राजधानी ढाकामा समेत दर्जनाैं घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

चित्तगोङमा इस्लामिक समूहका हजाराैं समर्थकले भारतमा मोदीले मुस्लिम अल्पसंख्यकलाई बेवास्ता गरेको आरोप लगाएको प्रहरी अधिकारी रफिकुल इस्लामले जनाए । उनका अनुसार प्रदर्शनकारीहरु मस्जिदबाट बाहिर आएर प्रदर्शनमा सहभागी भएका थिए ।

प्रहरी चाैकीमै घुसेर प्रदर्शनकारीहरुले व्यापक बर्बरता प्रदर्शन गरेको हुँदा प्रदर्शनलाई तितरबितर पार्नका लागि अश्रुग्यास र रबर बुलेटको प्रयोग गरेको प्रहरी अधिकारीले दाबी गरेका छन् । प्रदर्शनकारीमाथि गोली नै प्रहार भएको भन्नेबारे उनले केही खुलाएनन् ।

अर्का प्रहरी अधिकारी माेहम्मद अलाउद्दिनले जनाएअनुसार चित्तगोङ अस्पतालमा गोली लागेर घाइते भएका ८ जनालाई उपचारका लागि ल्याइएको थियो । जसमध्ये ४ जनाको मृत्यु भइसकेको थियो । मृतकमध्ये ३ जना विद्यार्थी भएको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *