महान्यायाधिवक्ता खरेल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

 महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच सोमबार भेटवार्ता भएको छ ।

भेटका क्रममा राजदूत क्वात्राले दुई देशबीचको सदियौदेखिको सम्बन्ध र नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका विकास आयोजनाका बारेमा छलफल भएको महान्यायाधिवक्ताको कार्याललयले जानकारी दिएको छ ।

महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको, संविधान बमोजिमका संरचनाहरु यसको उद्देश्य बमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको राजदूत क्वात्रालाई जानकारी गराए ।

छलफलका क्रममा महान्यायाधिवक्ता तथा सरकारी वकिलहरुको गत वर्ष भारतमा भएको अध्ययन भ्रमणको समेत समीक्षा गरिएको थियो । राजदूत क्‍वात्राले नेपालका सरकारी वकिलहरुको लागि आवश्यक पर्ने तालिम, अध्ययन भ्रमण तथा उच्च शिक्षाका बारेमा अविलम्ब कार्यक्रम आयोजना गर्न तथा अवसर उपलब्ध गराउने सम्बन्धमा आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

भेटकै क्रममा नेपालको महान्यायाधिवक्ताको कार्यालय र भारतको महान्यायाधिवक्ताको कार्यालयबीच आपसी सहयोग आदान प्रदानको प्रक्रिया अगाडि बढाउने कुरामा समेत छलफल भएको महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिए ।

भेटघाटका क्रममा नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डे, सहन्यायाधिवक्ताहरु लोकराज पराजुली र खेमराज ज्ञवाली पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *