भारतीय किसानलाई सेलिब्रेटीको समर्थन

चर्चित सेलिब्रेटीहरुले समेत समर्थन जनाउन थालेपछि भारतमा पाँच महिनादेखि जारी किसान आन्दोलनप्रति अन्तर्राष्ट्रिय चासो ह्वात्तै बढेको छ । बुधबार चर्चित पप स्टार रिहानाले किसान आन्दोलनको पक्षमा ट्विट गरेकी थिइन् ।

रिहानाले आफ्नो ट्विटमा ‘भारत सरकारले किसान आन्दोलनलाई असफल तुल्याउन इन्टरनेट बन्द गरेको’ शीर्षकको सिएनएनको समाचारलाई उद्धृत गर्दै आन्दोलनका पक्षमा फार्मस प्रोटेष्ट ह्यासट्गसहित एक्येबद्धता जनाएकी थिइन् । उनको ट्विटलाई घन्टाभरमै एक लाखभन्दा बढीले रिट्विट र २ लाखभन्दा बढीले लाइक गरिसकेका छन् ।

रिहानालाई पछ्याउँदै किसान आन्दोलनको समर्थनमा अन्य सेलिब्रेटी र अभियन्तासमेत उभिन थालेका छन् । यसले आफ्नो अन्तर्राष्ट्रिय छविमाथि नै प्रश्न उठ्ने देखेर भारतले किसान आन्दोलनप्रति बढ्दो अन्तर्राष्ट्रिय समर्थनप्रति कडा टिप्पणी गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि क्षेत्रको सुधारबारे किसानहरूको एउटा सानो वर्गको मात्र आपत्ति रहेको दाबी गरेको छ । सरकारले उनीहरुको भावनाको कदर गर्दै वार्ता प्रक्रिया अगाडि बढाइरहेका बेला केही स्वार्थ समूहले विरोध प्रदर्शन गरेका मन्त्रालयको दाबी छ । विज्ञप्तिमा आन्दोलनका विषयमा टिप्पणी गर्नुअघि तथ्यको हेक्का राख्न र मुद्दालाई सही रुपमा बुझ्न पनि आग्रह गरेको छ । ‘यस्ता मुद्दामा विशेषगरी सेलिब्रेटीहरुले सामााजिक सन्जालमा ह्यासट्याग वा टिप्पणी गर्न उद्धत हुनु गलत र गैरजिम्मेवार पनि हो,’ विज्ञप्तिमा उल्लेख छ ।

जनवरी २६ मा आन्दोलनकारीले दिल्लीमा निकालेको ट्रयाक्टर र्‍यालीका क्रममा किसान र प्रहरीबीच हिंसात्मक झडप भएका थिए । त्यसक्रममा एकजना आन्दोलनकारीको मृत्यु हुनुका साथै थुप्रै प्रहरी र किसान घाइते भएका थिए । सोही दिन किसानहरुको भिडले ऐतिहासिक लालकिलामा तोडफोतसमेत गरेको थियो । त्यसपछि आन्दोलनलाई कमजोर पार्न सरकारको धर्ना क्षेत्रमा इन्टरनेट बन्द गर्ने र राजमार्गमा स्थायी ब्यारिकेड बनाउने जस्ता कदम चाल्यो । ती कदमले आन्दोलनप्रति अन्तर्राष्ट्रियरुपमै चासो थप बढाउन काम गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *