भारतमा फेरि बढ्यो संक्रमण

महाराष्ट्र, कर्नाटक, केरला, पन्जाब, गुजरातलगायत राज्यका विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कर्फ्यु

 भारतमा पछिल्ला दिनहरूमा कोरोना भाइरस संक्रमितको संख्या चिन्ताजनक रूपमा बढ्दै गएको छ । अधिकारीहरूले संक्रमण थप फैलिएसँगै खोप अभियान तीव्र पारिएको जनाएका छन् । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार एकै दिन २५ हजार ३ सय २० जना संक्रमण पुष्टि भएको छ । जुन ३ महिनायताकै दैनिक संक्रमितको संख्यामा सबैभन्दा बढी हो । आइतबार थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १३ लाख नाघेको छ । संक्रमितको संख्याका हिसाबले भारत विश्वमा एघारौं स्थानमा छ । दैनिक वृद्धिका हिसाबले आइतबार सबैभन्दा उच्च रहेको छ । अघिल्लो दिनको तुलनामा आइतबारको वृद्धि ८ हजार ५ सय २२ ले बढी हो । यो वृद्धि गत भदौयताकै सबैभन्दा बढी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आइतबार मात्रै संक्रमणका कारण १ सय ६१ जनाको ज्यान गएको छ । योसँगै आइतबारसम्ममा भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ६ सय नाघेको छ ।

केही दिनयता संक्रमणमा भएको वृद्धिलाई संक्रमणको अर्को लहर हुन सक्ने भन्दै चिन्तासमेत व्यक्त हुन थालेको छ । विशेषगरी महाराष्ट्र, कर्नाटक, केरला, पन्जाब, गुजरातलगायत राज्यमा संक्रमण बढ्न थालेको छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था त निकै चिन्ताजनक छ । महाराष्ट्रमा आइतबार मात्रै १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण बढ्दै गएपछि केही राज्यहरूले विभिन्न स्थानमा लकडाउन र रात्रिकालीनको कर्फ्यु आदेश जारी गरिसकेका छन् । पन्जाब सरकारले लुधियानालगायतका विभिन्न ८ जिल्लामा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरेको छ । त्यसैगरी, महाराष्ट्र सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि मुम्बईका केही भाग, नागपुर, पुनेलगायतका जिल्लामा लकडाउन र रात्रिकालीन कर्फ्यु घोषणा गरिसकेको छ । नागपुर जिल्लामा सोमबारदेखि एक साताका लागि लकडाउन गर्ने निर्णय गरिएको छ भने पुने र नासिकमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले संक्रमण एक्कासि बढ्न थालेपछि राज्यभर लकडाउन गर्ने चेतावनीसमेत दिएका छन् । आइतबार थपिएका नयाँ संक्रमितमध्ये १५ हजारभन्दा बढी त महाराष्ट्रका मात्र छन् । मुख्यमन्त्री ठाकरेले मानिसहरूले मास्क लगाउने र दूरी कायम गर्न छाडेको भन्दै अझै पनि हेलचेक््रयाइँ गरे राज्यभर नै लकडाउन गर्ने चेतावनी दिएका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

भारतका राज्यहरूमध्ये महाराष्ट्रमा नेपाली कामदारहरूको सबैभन्दा बाक्लो उपस्थिति छ । विशेषगरी मुम्बई, पुने, नासिक लगायतका सहरमा नेपालीहरू रोजगारीका लागि जाने गर्छन् । उनीहरूमध्ये धेरैजसो रेस्टुराँ, होटल र अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्छन् । जसका कारण भाइरसको संक्रमण उकालो लाग्दै गर्दा उनीहरूमा स्वास्थ्य जोखिमका साथै रोजगारी गुम्ने चिन्ता पनि बढ्छ । भारत सरकारले यसअघि नै भाइसविरुद्धको खोप अभियान सुरु गरिसकेको छ ।

अधिकारीहरूका अनुसार आइतबारसम्म २ करोड ९७ लाख ३८ हजारभन्दा बढीले खोप लगाएका छन् । शनिबार मात्रै २० लाखभन्दा बढीले खोप लगाएका बताइएको छ । जनवरी १६ मा सुरु पहिलो चरणको खोप अभियानमा स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका ३ करोड जनालाई खोप दिइएको थियो । मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *