भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा जोखिम

विभिन्न राज्यमा लकडाउन भएपछि त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने र संक्रमण बढ्ने अनुमान

भारतमा कोरोना संक्रमण विस्तारसँगै नेपालमा जोखिम बढेको छ । संक्रमण विस्तारका दृष्टिले आगामी एक महिना निर्णायक हुने विज्ञहरूले बताएका छन् । यो साता दिनहुँ संक्रमण वृद्धिदर न्यून छ । हाल शल्यक्रिया गराउने र विदेश जाने चार हजार जनाले परीक्षण गराइरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को साप्ताहिक इपिडिमियोलजिकल अध्यावधिक विवरणअनुसार कोभिडको नयाँ संक्रमण विश्वव्यापी रूपमा बढिरहेको छ । गत साता १० प्रतिशतले संक्रमण बढेसँगै कोभिडको ३० लाखभन्दा बढी नयाँ केस रिपोर्ट गरिएको छ । भारतमा पछिल्लो समय ३० प्रतिशतले नयाँ केस थपिएको छ ।

‘भारतसहित विदेशबाट आउनेलाई स्थानीय पालिकाहरूले घरमै भए पनि १० दिन क्वारेन्टाइनमा राख्नुपर्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.कृष्णप्रसाद पौडेलले भने, ‘हामी छिमेकको स्थिति हेरेर मुलुकमा समेत संक्रमण बढ्छ कि भन्ने आशंकामा छौं र त्यसअनुसारै नियन्त्रणको तयारी थालेका छौं ।’

भारतका विभिन्न राज्यमा स्थानीय सरकारले लकडाउन गरेकाले त्यहाँ काम गरिरहेका नेपाली पुनः नेपाल फर्कने सम्भावनासमेत छ । ‘भारतमा कोभिड संक्रमणको विस्तार देखिएका ठाउँबाट आउनेले १० दिन घरमै क्वारेन्टाइनमा बस्ने प्रक्रिया अपनाए नेपालमा संक्रमण विस्तारले विकराल रूप नलिने आशा गरौं,’ डा.पौडेलले भने । नेपाल–भारत सीमा गड्डाचौकी, गौरीफन्टा, रुपैडिया, कृष्णनगर, भैरहवा, काँकडभिट्टालगायत बढी ओहोरदोहोर हुने नाकाको हेल्थ डेस्कलाई यात्री आगमन, उनीहरूको स्वास्थ्यलगायत विषयमा विस्तृत रूपमा रिपोर्ट गर्न भनिएको छ ।

हाल ईडीसीडीले भारतबाट हुन सक्ने संक्रमण विस्तारका दृष्टिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलाई बढी संवेदनशील मानेको छ । भारतका विभिन्न राज्यमा कोभिड संक्रमण बढेको जनाउँदै डा.पौडेलले यसअघि पनि भारतमा तीव्र भएको दुई–तीन सातापछि नेपालमा संक्रमण बढेको बताए । हाल भारतमा देखिएको संक्रमणमा वृद्धि र विश्वको विभिन्न भागमा देखिन थालिएको कोभिडको नयाँ भाइरसले गर्दा अगामी एक महिना नेपालमा संक्रमण विस्तारको दृष्टिले निर्णायक हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *