ब्रिटिश राजकुमार ह्यारी र उनकी पत्नी मेगनले दोस्रो सन्तानको रूपमा छोरी जन्मिएको घोषणा गरेका छन्।

राजकुमार ह्यारी र मेगनले आफ्नी छोरीको लागि जिजुआमा महारानी एलिजाबेथको परिवारमा बोलाइने नाम लिलिबेट छानिएको बताएका छन्। महारानीले तोतेबोली बोल्ने बेलामा आफ्नो वास्तविक नामलाई राम्ररी उच्चारण गर्न नसक्दा उक्त नाम दिइएको थियो। बीचको नाम डायना भने उनकी स्वर्गीय हजुरआमा प्रिन्सेस अफ वेल्सको सम्मानमा राखिएको उक्त विज्ञप्तिमा जनाइएको छ। स्थानीय समय अनुसार बिहानको ११ बजेर ४० मिनेट जाँदा जन्मिएकी उनको तौल झन्डै ३.४९ केजी रहेको र अहिले उनी घरमा रहेको बताइएको छ। ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ‘धेरै बधाई’ र लेबर नेता सर केअर स्टारमरले ‘गज्जबको खबर’ भन्दै सन्देश दिएका छन्।

लिलिबेट महारानीकी ११औँ पनातिनी हुन् र उनी राजगद्दीको क्रममा आठौँ नम्बरमा पर्छिन्। यसको अर्थ सन् १९६० मा राजगद्दीको दोस्रो क्रममा जन्मिएका राजकुमार एन्ड्रिउ अब राजगद्दीको लहरमा नवौँ स्थानमा पुग्नेछन्। ३६ वर्षीय ह्यारी र ३९ वर्षीय मेगनले सन् २०१८ को मे महिनामा विवाह गरेका थिए। उनीहरूले आफ्नी छोरीको कुनै तस्बिर भने सार्वजनिक गरेका छैनन्। विवाहको एक वर्षपछि उनीहरूको छोरा आर्चीको जन्म भएको थियो।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *