नेपाल र भारत दुई ऐतिहासिक र सनातन धर्मका अनुयायी राष्ट्रहरूबीचको सम्बन्ध अहिले इतिहासमै सबैभन्दा तल्लो स्तरमा झरेको छ । यी दुवै राष्ट्रले सदियौंदेखि शान्तिपूर्वक, एकले अर्कोलाई सहयोग पुर्याउँदै विभिन्न अप्ठ्याराहरू पार गर्दै आजको दिनसम्म आफ्ना मूल्यमान्यता जीवित राख्दै आएका छन् । तर पछिल्ला वर्षहरूमा परिस्थिति बदलिएको छ ।
सम्बन्धहरूमा पटक–पटक उतारचढाव मात्र होइन, परिस्थिति नै बदलिँदै गएको छ । नेपाल–भारत सम्बन्धमा उतारचढावको सुरुआत कहिलेदेखि भयो, ठ्याक्कै भन्न सकिन्न । तर, सम्बन्ध ओरालो लाग्ने क्रम सन् १९५० को दशकदेखि सुरु भएको आकलन गर्न सकिन्छ । सन् १९५० को मिति दुवैका लागि महत्त्वपूर्ण हो किनभने यसपछि नै दुवै मुलुकले राष्ट्र–राज्यमा रूपान्तरित भएर आधुनिक शासन प्रणाली अंगीकार गर्न पुगे । राष्ट्र–राज्य र आधुनिक शासन प्रणाली दुवैका लागि आयातित विचारधारा हुन्, जसले समान संस्कृति, मूल्यमान्यता, परम्परालाई धेरै महत्त्व दिँदैनन् । यी दुवैको प्रमुख उद्देश्य राष्ट्रिय स्वार्थ भूगोल र सार्वभौमिकताको रक्षा गर्नु हुन आउँछ । जब यी विचारधाराहरू साँच्चै व्यवहारमा उतारिन्छन्, त्यति बेला भगवान्को पनि राष्ट्रिय दायरा निर्धारण हुन जान्छ । यो राष्ट्रिय दायराअनुसार बुद्ध नेपाली र राम भारतीय मूलका हुन जान्छन् । अर्थात्, भगवान्लाई भूगोलले बाँध्ने प्रयास गरिन्छ । बुद्ध र रामको राष्ट्रियता महत्त्वपूर्ण हुन जान्छ तर बुद्ध र रामले दिन खोजेका सन्देशलाई नजरअन्दाज गरिन्छ । नेपाल–भारत सम्बन्ध लामो समयदेखि यस्ता विषयहरूबाट पनि प्रभावित भएको देखिन्छ । तर, योभन्दा पनि महत्त्वपूर्ण पक्ष पछिल्ला दिनमा सीमा विवादसँग जोडिएर आएका राजनीतिक र कूटनीतिक पहलकदमीहरू हुन् । लामो समयदेखि थाती रहेको कालापानी (लिपुलेक र लिम्पियाधुरासहित) सीमा विवाद र नक्सा प्रकरणले नेपाल–भारत सम्बन्ध इतिहासमै सबैभन्दा बढी विवादास्पद र कमजोर हुन गएको छ । यो विवादका कारण राज्यस्तरमा मात्र होइन, जनस्तरबीचको सम्बन्धसमेत अप्ठ्यारोमा परेको छ । यो आलेखमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल गरिनेछ ।