फ्रान्समा पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

फ्रान्सका पूर्वराष्ट्रपति निकोला सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ।

तीनमध्ये दुई वर्ष निलम्बित सजाय रहने बताइएको छ।

एक जना म्याजिस्ट्रेटलाई आफ्नो फौजदारी अपराधको मुद्दाको बारेमा सूचना दिए सम्मानित जागिर दिने लोभ देखाएको आरोप ६६ वर्षीय पूर्वराष्ट्रपतिलाई लगाइएको थियो।

उनी जेल सजाय भोग्ने गरी सजाय पाउने पहिलो फ्रान्सेली पूर्वराष्ट्रपति भएका छन्।

सार्कोजीका पूर्ववकिल र ती म्याजिस्ट्रेटलाई पनि उस्तै प्रकृतिको सजाय दिइएको छ।

ती तीनै जनाले पुनरावेदन गर्ने मानिएको छ।

फैसलामा प्यारिसका एक न्यायाधीशले सार्कोजीले डिजिटल ट्याग लगाएर एक वर्षको सजाय घरमै बिताउन सक्ने बताएका छन्।

न्यायाधीशले सार्कोजीलाई आफूले गरिरहेको कार्य गलत भएको थाहा भएको र उनको त्यो कार्यले न्यायप्रतिको आमधारणा नराम्रो बनाउने बताएका थिए।

यो मुद्दालाई आधुनिक फ्रान्समा महत्त्वपूर्ण मानिएको छ।

यसअघि उनीभन्दा पहिलेका राष्ट्रपति ज्याक सिराकलाई प्यारिसको नगरप्रमुख हुँदा आफ्नो कार्यकर्तालाई जागिर दिएको आरोपमा सन् २०११ मा दुई वर्षको निलम्बित सजाय दिइएको थियो। सिराकको सन् २०१९ मा मृत्यु भइसकेको छ।

सरकारी वकिलले सार्कोजीलाई चार वर्षको सजाय माग गरेका थिए।

म्याजिस्ट्रेट गिल्बर्ट अजिबर्ट र सार्कोजीका वकिल थिअरी हेर्जगको फोन वार्तालाप प्रहरीले सन् २०१४ मा रेकर्ड गरेको थियो।

सार्कोजीमाथि सन् २०१२ मा उनी पराजित भएको निर्वाचनमा तोकिएभन्दा धेरै खर्च गरेको आरोपको मुद्दा पनि छ जसको मार्च १७ देखि एप्रिल १५ सम्म सुनुवाइ हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *