नेपाल र चीनबीच फेरि सैन्य तालिम

चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच कोभिड–१९ का कारण झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थी आदान–प्रदानका कार्यहरु फेरि सुरु हुने भएको छ । 

नेपाल भ्रमणका क्रममा चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आइतबार दिउँसो सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटवार्तामा दुई मुलुक बीचमा कोभिड–१९ का कारण रोकिएका सहयोग, सहकार्य र अभ्यासहरुलाई फेरि सुचारु गर्ने सहमति भएको हो । योसँगै नेपाल र चीनका सेनाबीच रोकिएको तेस्रो सगरमाथा मैत्री संयुक्त सैन्य अभ्यास पनि हुने पक्का भएको छ । तर अहिले मिति भने तय गरिएको छैन ।

नेपाली सेनाद्वारा जारी विज्ञप्तिअनुसार विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगति बारेमा पनि छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो । ‘चिनियाँ रक्षामन्त्री वेई र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयलाई सकारात्मक रुपमा लिई उच्चस्तरीय भ्रमण लगायतका द्विपक्षीय सहयोगका कार्यहरु यथाशीघ्र सुचारु गर्ने बारेमा आश्वासन दिनु भयो,’ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागिसमेत प्रतिबद्धता व्यक्त गरेको छन् । सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामग्रीहरु भेन्टिलेटर, मुभ एवल मेडिकल अस्पताल तथा अन्य संक्रमणलाई नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *