नेपाललाई जानकारी नदिएर भारतले एकपक्षीयरुपमा महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध निर्माणको काम तत्कालका लागि रोकिएको छ ।

तटबन्ध निर्माणस्थलको निरीक्षण गरेर भारतीय पक्षसँग वार्ता गर्न नापी विभागको टोली दार्चुला पुगेको छ ।

दार्चुलाको महाकाली नगरपालिका ५, गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरि नेपाली भूमिमै तटबन्ध निर्माण सुरु गरेको थियो । २०७० सालमा महाकाली नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा सो क्षेत्र नदीपारि परेको थियो । भारतले साेही क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको हो ।

भारतले एकपक्षीय रुपमा बाँध निर्माण गर्न थालेपछि नापी विभागको टोलीसहित सर्वपक्षीय नेपाली कार्यदलले सोमबार स्थलगत निरीक्षण गरेर भारतीय पक्षसँग वार्ता गर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लालाई पत्राचार गरेपछि तत्काल काम रोकिएको बताउनुभयो ।

प्रजिअ जोशीले भन्नुभयो, “नापी विभागको टोली दार्चुला आइपुगेको छ । सोमबार स्थलगत निरीक्षण गरेर भारतीय पक्षसँग वार्ता हुनेछ । भारततर्फको टोली पनि आइपुग्दै छ ।”

नापी विभागका उप सचिव दयानन्द जोशीको नेतृत्वमा पाँचजनाको टोली सीमा सम्बन्धी नक्सा लिएर नै दार्चुला आइपुगेको बताइएको छ । नापी विभागको टोलीले आवश्यक परे दार्चुलादेखि टनकपुरसम्मको नेपाली भूभागको अवस्था अवलोकन गर्ने तयारी गरेको छ ।

यो विषयमा नापी विभागका उपसचिव दयानन्द जोशीले अहिले नै धेरै कुरा नबोल्ने बताउनुभयो । उपसचिव जोशीले भन्नुभयो, “ आज भारतीय पक्षसँग वार्ता हुँदैछ । हामी तयारीका साथ दार्चुला आइपुगेका छौं । अहिले यति भनौं ।”

२०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको करिब एकहजार रोपनीभन्दा बढी जग्गा महाकाली नदीपारि परेको महाकाली नदी नियन्त्रण आयोजना निर्देशक शोभाकर पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो,“ महाकालीमा बाढी आउँदा नदीले धार परिवर्तन गरेर दार्चुलाको गल्फै क्षेत्रको करिब एकहजार रोपनी जग्गा महाकाली नदीपारि परेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *