नेकपामा फलदायी भएनन् बैठक स्थगनका सात दिन

पार्टीमा गहिरिँदो संकट समाधानका लागि अनौपचारिक संवाद गर्न एक साताका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित भए पनि यस अवधिमा खासै प्रगति हुन सकेन । आइतबार (२१) मंसिरमा बसेको स्थायी कमिटी बैठक दुवै अध्यक्षका प्रस्ताव र पत्र अध्ययन र अनौपचारिक संवादका लागि मंसिर २८ अर्थात् आइतबारसम्मका लागि स्थगित भएको थियो । 

२१ मंसिरको बैठक एक साता स्थगनपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए, ‘यो अवधिमा स्थायी कमिटीका नेताहरूलाई दुवै अध्यक्षका प्रस्ताव र पत्र अध्ययन गर्न भनिएको छ, सहमतिका लागि अनौपचारिक रूपमा कोसिस जारी रहनेछ ।’ तर, यो एक सातामा सहमति जुटाउने सघन संवादमा भन्दा नेताहरु एकअर्का समूहविरुद्ध रणनीति बनाउने तयारीमा जुटेका छन् ।

गएको आइतबारदेखि शनिबारसम्म प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एकपटक अनौपचारिक संवाद भए पनि विवाद समाधानका लागि शीर्ष तहमा अरु कुनै भेट भएका छैनन् । बरु, यसबीचमा समूहगत छलफल र भेला भएका छन् ।

पार्टी नेताहरुले एक साताको समयमा केही प्रगति नभएको बताएका छन् । स्थायी कमिटी सदस्य सुवास नेम्वाङ भन्छन्, ‘नेताहरुबीच भेटघाट कुराकानी भएका छन् । आज शंकर पोखरेल र प्रचण्ड कमरेडको भेट भयो । प्रधानमन्त्री र प्रचण्ड कमरेडबीचमा टेलिफोन संवाद नियमित रुपमा भइराखेको छ । भोलि बिहान प्रचण्ड कमरेडले मलाई भेट्न बोलाउनु भएको छ । बिहान जान्छु । यसरी कुराकानी भइराखेको छ तर अहिलेसम्म देखिने ढंगको परिणाम आएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *