देहरादून घटना: निकम्मा देखिने कूटनीतिक पहुँच र संयन्त्र

दिल्लीबाट एक बिहानको रेल्वे यात्रामा पुग्‍न सकिने उत्तराखण्डको देहरादूनस्थित बौद्धशिक्षा आधारित एक बोर्डिङमा नेपाली विद्यार्थीमाथि भएको कुटपिट र अमानवीय व्यवहारको घटना बाहिर आएपछि दिल्लीमा रहेका नेपाली राजदूत र काठमाडौंमा परराष्ट्र मन्त्री दुवैले ‘यसबारे ध्यानाकर्षण’ भएको ट्वीट सूचना बाहिर ल्याए ।

गत सोमबार भएको कुटपिटको खबर बिहीबार मिडियामा आएपछि हरिद्वार, ऋषिकेश र देहरादूनको नेपाली समाजका प्रतिनिधिले आफ्नै स्रोत तथा पहुँचका भरमा बिहीबार दिनभर लगाएर उक्त बोर्डिङ शाक्य एकेडेमीका सञ्चालक समूहसँग वार्ता गरे । वार्तापछि एकेडेमी प्रिन्सिपल छिरिङ छोदेनले ऊक्त घटनाप्रति क्षमायाचना माग्दै विद्यार्थीको इच्छाअनुसार घर फिर्ता पठाइने लिखित प्रतिबद्धता जनाइन् ।

उत्तराखण्डका सबै मुख्य पत्रपत्रिका, श्रव्यदृश्य माध्यममा विद्यार्थीमाथि भएको हर्कतको निन्दासहित प्राथमिकताका समाचार आइरहेकै बेला उत्तराखण्ड सरकारमा गोरखा कल्याण परिषद्का राज्यमन्त्री टीडी भुटिया, उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीसहितका प्रतिनिधि एकेडेमी पुगेर नेपाली विद्यार्थी हकहितको पक्षमा ‘लबिङ’ गरेका थिए ।

वार्ताको यो माहोल जुटाउन हरिद्वारका पुष्पराज पाण्डेय, देहरादूनका सूर्यविक्रम शाही, स्थानीय पत्रकार चेतन गुरुङसहितको जोडबल अनुकरणीय थियो । तर, यो सबै घटनाक्रम, वार्ता र समस्या समाधानका छलफलमा नेपाली दूतावास कहाँ थियो ? दूतावासबाट एकजना प्रथम सचिव बेलाबेला देहरादूनमा रहेका नेपाली समाजका प्रतिनिधिसँग फोनमा त आउँथे तर, समस्याबाट पन्छने र पन्छाउने नियतमा । जो एकेडेमीका प्रिन्सिपलसँग फोनमा कुराकानी गर्नसमेत पन्छिरहेका थिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *