दुई देशको सम्बन्ध थप कसरी बढाउने भनेर कुरा गर्छौं : विदेश सचिव श्रृंगला

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो दुईदिने नेपाल भ्रमणमा दुई देशबीचको सम्बन्ध थप कसरी अघि बढाउने भन्नेबारे कुरा गर्ने बताएका छन् । त्रिभुवन विमानस्थलमा बिहीबार उनले सञ्चारमाध्यमसँग भने, ‘हाम्रो सम्बन्धलाई कसरी अघि बढाउने भन्नेबारे कुरा गर्छौं ।’ 

गत वर्ष कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेकोमा यही वर्षको सुरुमा नेपालले पनि आफ्नो नयाँ नक्सा जारी गरेपछि दुई मुलुकबीच विवाद बढेको थियो ।

विदेश सचिव श्रृंगलाले नेपालमा आउँदा अत्यन्तै खुसी लागेको भन्दै आफू पहिले पनि काठमाडौं आएको बताए । ‘तर विदेश सचिवका रूपमा मेरो यो पहिलो भ्रमण हो,’ उनले भने । श्रृंगलाले भारत र नेपाल निकटतम मित्र रहेको उल्लेख गर्दै दुईपक्षीय छलफलहरू गर्ने बताए ।

उनले सबैभन्दा पहिला परराष्ट्र सचिव भरतराज पौडेल, त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग र अन्य उच्च भेटघाट गर्नेछन् । श्रृंगलाले शुक्रबार भर्चुअल माध्यमबाट भारत–नेपाल मैत्री विषयमा धारणा राख्नेछन् । शुक्रबार दिउँसो उनी गोरखा जानेछन् । जहाँ उनले भारत सरकारको सहयोगमा बनाइएका भूकम्पपीडितका घरको अवलोकन गर्नेछन् । त्यहाँ ५० हजार घर बनाइदिने प्रधानमन्त्री नरेन्द्र मोदीको वाचाअनुसार हालसम्म ४० हजार घर बनिसकेका छन् ।

श्रृंगलाले भारतको सहयोगमा बनाइएका तीनवटा विद्यालय र मनाङमा एउटा बौद्ध गुम्बाको उद्घाटन पनि गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *