जंगबहादुरको शासनमा उर्दी जारी गरिएको थियो– ‘व्यभिचार गर्ने आइमाईलाई बाघको मुखमा हालिदिनू ।’ राणासनमा मात्रै होइन, महिलाको यौनिकतामाथिको नियन्त्रण आजसम्मै छ । मानव सभ्यतामै निजी सम्पत्तिमाथि नियन्त्रणका लागि बन्धक गरिएको यौनिकता महिलाका लागि सबैभन्दा हानिकारक कैद हो ।
ऊबेला सम्पत्तिका लागि यौनिकता कैद भयो, समयक्रममा यो प्रतिष्ठासँग जोडियो । कथित प्रतिष्ठाका लागि महिलाको ज्यान नै लिन थालियो । परिवार र समाजको कथित इज्जत महिलाका लागि ज्यानमारा साबित भयो ।
यही मंसिर १४ गते एउटा डरलाग्दो अपराधको समाचारले अखबारहरू भरिए । रौतहट माधवनारायण नगरपालिका–७ की सत्र वर्षीया किशारी अमृताको आफ्नै बाबुको योजनामा गोली हानी हत्या गरियो । परिवारले तिरस्कार गरेको, उमेर दोब्बर जेठो र कथित तल्लो जातिको एक पुरुषसँग अमृताको प्रेम थियो । रामअयोध्याले छोरीको हत्या गर्नुको मूल कारण उनले कमाएको कथित सामाजिक मर्यादा नै हो । छोरीको निजी–साथी छनोटले उनको मर्यादामा पहिरो गयो र आफ्नै छोरीको ज्यान लिए । आफूसँगै सुतिरहेकी छोरीको हत्यालाई सजिलो पारिदिन शौचालय जाँदै गरेकी अमृताकी आमा सीतादेवीको हृदयको चित्र कस्तो थियो होला त्यसबखत ? सृष्टिकर्तालाई थाहा होला ।