जोनसन एन्ड जोनसनको एक मात्रा लगाउँदा पुग्ने ‘६ लाख खोप प्राप्त हुने’

दुई मात्रा लिनुपर्ने अक्सफर्ड-आस्ट्राजेनेकाको खोप आगामी जुलाई महिनाभित्र उपलब्ध गराइने व्यहोराको पत्र प्राप्त भएको उनले उल्लेख गरे। अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जेनसेन खोपको एउटै मात्रा लगाउन सिफारिस गरिएको छ।  यसबाहेक चीनबाट पनि खोप खरिद गर्ने प्रक्रिया अघि बढेकाले खोप अभियानको सञ्चालनमा देखिएको अवरोध चाँडै फुक्न सक्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुखले बीबीसीलाई बताए। 

खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले अक्सफर्ड-आस्ट्राजेनेका र जेनसेन खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए। उनले भने, “तीन लाख ४८ हजार मात्रा आस्ट्राजेनेकाको खोप जुलाई महिनाभित्र उपलब्ध गराइने भनेको केही समय भइसक्यो जस्तो लाग्छ। जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने भनेर हालै चिट्ठी आएको हो। त्यसमा कहिलेसम्म खोप उपलब्ध गराइन्छ भनेर मिति भने तोकिएको छैन।”

उनले थपे, “यो धनी राष्ट्रहरूले जम्मा गरेर राखेको भनिएको खोपमध्ये हो। र, कोभ्याक्समार्फत् हामीले पाउन लागेका हौँ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेतृत्वमा खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउन स्थापित गरिएको कोभ्याक्स कार्यक्रमको सन् २०२१ भित्र दुई अर्ब कोभिड-१९ खोप वितरण गर्ने लक्ष्य पूरा हुन नसक्ने चेतावनीमाझ पछिल्ला विवरण आएको हो।

उक्त अभियानले हालसम्म १३१ देशमा नौ करोड खोप वितरण गरेको छ। डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस एल्वर्डले कोभ्याक्समार्फत् खोप नपाएकाले कैयौँ देशका खोप कार्यक्रमहरू प्रभावित भइरहेको बताएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *