चेतावनीबीच म्यान्मारमा आमहडताल

म्यान्मारमा सैनिक ‘कु’ को विरोधमा सोमबार गरिएको आमहड्तालमा दसौं हजार सहभागी भएका छन् । प्रदर्शनमा सहभागी भए ज्यानै जान सक्ने सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू ठूलो सहर यांगुन र राजधानी नेइपिडअका सडकमा उत्रेका छन् । 

‘खासगरी युवा तथा किशोर नागरिकलाई उक्साउने तथा मुठभेडको बाटोमा अघि बढ्नेको ज्यानैसम्म जान सक्छ,’ राज्य सञ्चालित प्रसारण संस्था एमआरटीभीले सेनाद्वारा जारी वक्तव्य उल्लेख गर्दै भनेको छ । सामाजिक सञ्जाल फेसबुकले भने ‘बारम्बार हिंसा उक्साएको तथा सामाजिक हानि पुर्‍याएको’ भन्दै म्यान्मारको सेनाले सञ्चालन गरेको समाचार पेज आइतबार बन्द गरिदिएको थियो ।

यसअघि सन् २०१८ मा सेना प्रमुख मिन आङ ह्लाइङ र अन्य १९ जना सैनिक अधिकारी तथा संस्थालाई फेसबुक चलाउन प्रतिबन्ध लगाइएको थियो । त्यसैगरी, गत नोभेम्बरको चुनावअघि फेसबुकले सेनाको गुणगान गाउने तथा नेतृ आङ सान सुचीको अस्वस्थ आलोचना गर्ने कम्तीमा ७० वटा फर्जी खाता बन्द गरिदिएको थियो । म्यान्मारको करिब ५ करोड ४० लाख जनसंख्यामध्ये २ करोड २० लाखले फेसबुक चलाउने गरेका बताइन्छ । सैनिक ‘कु’ को विरोधमा सोमबार व्यवसायी र कामदारहरू पनि सहभागी भएका थिए । नेइपिडअमा विरोधमा उत्रेका हजारौं प्रदर्शनकारीलाई लखेट्न प्रहरीले पानीका फोहरा प्रयोग गरेको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले ‘हामी सैनिक शासक चाहँदैनौं, लोकतन्त्र बहाली गर, पक्राउ परेकाहरूलाई रिहा गर, गैरकाुननी पक्राउ बन्द गर’ लगायत नारा लगाउँदै आएका छन् ।

सेनाले फेब्रुअरी १ मा देशको शासनसत्ता आफ्नो हातमा लिएसँगै म्यान्मारमा तनाव बढेको हो । त्यसयता हुँदै आएका विरोधमा दसौं हजार सहभागी हुने गरेका छन् । प्रदर्शन चर्कँदै गएपछि सैनिक शासकमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएको छ । अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सेनालाई जननिर्वाचित सरकार बहाली गर्न तथा पक्राउ लोकतन्त्र पक्षधर नेताहरूलाई रिहा गर्न दबाब दिँदै आएका छन् । अमेरिका, बेलायत र क्यानाडाले वरिष्ठ सैनिक अधिकारीहरूलाई प्रतिबन्धको घोषणासमेत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *