गलवानमा भारतसँग भएको झडपको भिडियो चीनद्वारा सार्वजनिक

गत वर्ष जुनमा लद्दाखको गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच भएको झडपको भिडियो सार्वजनिक भएको छ । चिनियाँ सरकारी टेलिभिजनमा कार्यरत पत्रकार सेन सिवेईले उक्त झडपको भिडियो सार्वजनिक गरेका छन् ।

उक्त भिडियो चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीमा पनि देखाइएको थियो । करिब ४ दशकपछि दुई देशबीच भएको ठूलो हिंसात्मक झडपमा २० जना भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो । चीनले बिहीबार मात्रै आफ्ना ४ जना सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो । त्यसअघि चीनले आफ्नो पक्षमा कुनै पनि मानवीय क्षति नभएको दाबी गर्दै आएको थियो । भारतसँगको झडपमा आफ्ना ४ जना सैनिक मारिएको र एक जना गम्भीर घाइते भएको चीनले स्वीकार गरेको छ ।

सार्वजनिक भएको भिडियोमा भारतको नाम नलिईकनै विदेशी सेनाले पुरानो सम्झौता उल्लंघन गरेको बताइएको छ । भिडियोमा भनिएको छ, ‘अप्रिलपछि सम्बन्धित विदेशी सेनाले पुरानो सम्झौता उल्लंघन गरिरहेका थिए । उनीहरुले पुल र सडक बनाएर सीमा पार गरे ।’ त्यस्तै भिडियोमा अगाडि भनिएको छ, ‘विदेशी सेनाले यथास्थितिलाई परिवर्तन गर्न खोज्दा सीमामा एकाएक तनाव बढ्यो, सम्झौतालाई सम्मान गर्दै हामीले वार्ताबाटै समस्या समाधानको प्रयास गऱ्यौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *