कोरोनाले अमेरिकामा ५ लाखभन्दा बढीको मृत्यु

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । संक्रमित हुनेको संख्या २ करोड ८० लाखभन्दा बढी पुगेको छ । यो संख्या भारत (१ करोड १० लाख) र ब्राजिल (१ करोड २ लाख) मा संक्रमित हुनेको कुल संख्याभन्दा पनि धेरै हो ।

कोरोना संक्रमणकै कारण आगामी जुन १ सम्म अमेरिकामा कम्तीमा थप ९० हजार मानिसको मृत्यु हुन सक्ने इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्यालुसन (आईएचएमई) को आकलन छ । हाल दैनिक २ हजार जनाको मृत्यु भइरहेकोमा मे महिनाको अन्तिमबाट यो संख्या ५ सयमा झर्ने समेत जनाइएको छ ।

पछिल्लो समय यहाँ कोरोना भाइरसका नयाँ प्रजातिको संक्रमण विस्तारमा समेत वृद्धि भएको विभिन्न रिपोर्टमा उल्लेख छ । राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेपछि मुलुकभर कोरोनाविरुद्धको खोप लगाउने दरलाई भने बढाइएको छ । मंगलबार राष्ट्रपति बाइडेनले देशवासीका नाममा सम्बोधन गर्दै कोरोना महामारीविरुद्ध उभिन आग्रह गरेका छन् । ‘आज म सबै अमेरिकी नागरिकलाई आग्रह गर्छु कि जसलाई हामीले गुमायौं उनीहरूलाई सम्झौं, जसलाई हामीले पछाडि छोडेर आयौं, उनीहरूलाई पनि सम्झौं,’ उनले भने । एक देशका रूपमा यति धेरै मानवीय क्षति हुनुलाई क्रूर भाग्यका रूपमा मात्रै लिन नसक्ने उनको भनाइ थियो ।

बाइडेनले राष्ट्रपति कार्यालय ह्वाइटहाउसको बाहिर मैनबत्ती बालेर महामारीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिएका थिए । उनलाई उपराष्ट्रपति कमला ह्यारिसले समेत साथ दिएकी थिइन् । राष्ट्रिय शोकको घोषणा गर्दै राष्ट्रपति बाइडेनले आगामी ५ दिनसम्म सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिए । बाइडेनका अनुसार अमेरिकामा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा मारिनेको कुल संख्याभन्दा धेरै हो ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *