कोभिड नेपालः कोरोना भाइरस हुँदा बिरामीका आँखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण देखा पर्न थाल्यो, कसरी जोगिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, “नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामीकहाँ तीन-चारवटा रिपोर्ट आएको छ।”

उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ। भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो। कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ। रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यान भन्छन्, “म्यूकोर माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ। यो एउटा स्पोरको रूपमा हुन्छ।”

नाङ्गो आँखाले देख्न नसकिने ससाना बाटुलो आकारको स्पोरले निश्चित शारीरिक अवस्थामा आक्रमण गरेपछि म्यूकर्माइकोसिस हुने उनी बताउँछन्।

फ्यामिली फिजिशन तथा आकस्मिक रोग विशेषज्ञ डा. उदयनारायण सिंहका अनुसार मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता एकदम कमजोर भएको बेला यो सङ्क्रमण हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *