किसान आन्दोलनले दिल्लीमा तनाव

भारतले गणतन्त्र दिवस मनाइरहँदा राजधानी नयाँदिल्लीका केही स्थानहरू भने किसान आन्दोलनकारी र प्रहरीबीचको झडपका कारण दिनभर नै तनावग्रस्त रह्यो । त्यस क्रममा एक जना आन्दोलनकारीको मृत्युसमेत भएको छ भने थुप्रै आन्दोलनकारी र प्रहरी घाइते भएका छन् ।

तर, नयाँदिल्ली प्रहरी र आन्दोलनरत पक्षबीचको नियमित संवाद र संयमले थप क्षति भने भएन । गणतन्त्र दिवसका अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम चलिरहेका बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरूले सरकारको विरोधमा र्‍याली निकालेका हुन् ।

मोदी सरकारले पाँच महिनाअघि ल्याएको कृषि कानुनको विरोधमा आन्दोलनरत ४० वटा किसान संगठनहरूले गणतन्त्र दिवसकै दिन ट्र्याक्टर र्‍याली निकाल्ने पूर्वघोषित कार्यक्रमअनुसार नै मंगलबार उक्त र्‍याली निकालेका हुन् ।

सोही कार्यक्रमअनुसार नै दिल्लीका सिंघु, गाजीपुर, टिक्रीलगायत नाकामा दुई महिनादेखि धर्नामा रहेका किसानहरू ट्र्याक्टरसहित मंगलबार बिहान दिल्लीतर्फ लागेका थिए । दिल्लीको मुख्य भागतर्फ ट्र्याक्टरसहित अगाडि बढेका आन्दोलनरत किसानहरू उग्र बनेपछि आईटीओलगायत स्थान केही घण्टा रणभूमिमा परिणत भए । त्यसपछि अन्य नाकामा रहेका आन्दोलनकारी पनि उग्र बन्दै गएका थिए । प्रहरीको ब्यारिकेड तोड्दै दिल्लीतर्फ सोझिएका किसानहरू आईटीओमा आइपुग्दा भने स्थिति एकाएक उग्र बन्नेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *