कांग्रेसमा सहमति निस्केन, मंगलबार पनि बैठक बस्ने

कांग्रेसको सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन सकेन ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय र गतिविधिबाट महाविधेशन निष्पक्ष हुनेमा आशंका उठाउँदै गत असोज ११ गते पार्टी केन्द्रीय कार्यालयमा १६ बुँदे ज्ञापन पत्र दर्ता गराएका थिए ।

ज्ञापनपत्रमा विधान विपरितका सबै काम उल्टाउनु पर्ने माग पौडेल पक्षले राखेको छ । केन्द्रीय कार्यसमितिको बैठक अघि आफूहरुको माग सम्बोधन हुनुपर्ने अडान पौडेल पक्षले राखेपछि देउवाले सोमबार पदाधिकारी, पूर्व पदाधिकारीसहितको बैठक डाकेका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बोलाइएको छ । बैठकमा पौडेल पक्षले राखेको ज्ञापनपत्रको बुँदागत छलफल हुनुको साथै आशंकाहरु मेट्ने काम भएको संस्थापन पक्षीय एक पदाधिकारीले बताए ।

पौडेल पक्षले विधान र प्रक्रिया विपरित क्रियाशिल सदस्यताको वितरण र केन्द्रीय विभागमा भएका मनोनयन उल्टाउनु पर्ने माग राखेको छ । भातृ तथा शुभेच्छुक संस्थाका अधिवेशन हुनुपर्ने, अधिवेशन नभइ महाधिवेशनमा प्रतिनिधिको व्यवस्था गर्न नहुने लगायतका माग समेत पौडेल पक्षले उठाएको छ ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले क्रियाशिल सदस्यता विधानको व्यवस्था र प्रक्रिया अन्तर्गत नै रहेर वितरण भएको दाबी गरेका छन् । उनले अन्य राजनीतिक दलबाट आउने नेताहरुलाई मात्रै नभइ उनीहरुका कार्यकर्ताहरुलाइ समेत क्रियाशिल सदस्यतामा वञ्चित गर्न नहुने बताएका थिए । ‘क्रियाशिल सदस्यता दिँदा नै नियन्त्रण गर्ने हो अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु किन कांग्रेस प्रवेश गर्छन ?’ उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *