ओप्रा अन्तर्वार्ता: मेगन मार्कल र राजकुमारी डायनाको तुलना गरिनुका कारण

ड्यूक तथा डचिस अफ ससिक्सको ओप्रा अन्तर्वार्ता धेरै कारणले महत्त्वपूर्ण रह्यो – तीमध्ये एउटा कारणचाहिँ अन्तर्वार्तामा राजकुमार ह्यारीकी आमा राजकुमारी डायनाको प्रसङ्ग बेलाबेलामा उल्लेख हुनु हो।

मेगन मार्कलले राजपरिवारसँग जोडिँदा उत्पन्न हुने विभिन्न पक्षबारे डायनाकी एक साथीसँग कुरा गरेको बताइन्। “किनभने… अरू कसले त्योबारे बढ्ता बुझेको होला र?”

दुई महिलाको राजपरिवारमा हुँदाको अनुभवबारे तुलना गरियो।

राजकुमार ह्यारीले आफ्नो दम्पती राजकीय जिम्मेवारीबाट पन्छिनुअघि कसरी आफ्नी आमा र पत्नीबीच तुलना गर्दै आफूलाई ‘इतिहासको पुनरावृत्ति हुने’ डर लागेकोबारे बोलेका छन्।

ह्यारीले यूकेका ट्याब्लोइड पत्रिकाले आफ्नी पत्नीबारे प्रकाशन गर्ने सामग्रीलाई डायनाको पालामा भएका प्रकाशनसँग तुलना गरेको यो पहिलो पटक भने होइन।

प्रेस कभरेजका दुई पाटा

राजकुमारी डायनालाई विश्वकै सबभन्दा प्रख्यात महिलामध्ये मानिन्थ्यो। उनको परोपकारी कार्य तथा व्यक्तिगत जीवन दुवैबारे पत्रिकाहरूमा यथेष्ट छापिन्थ्यो।

“डायना एक अभूतपूर्व शाही प्रतीक बनिन्। उनलाई विश्वभरि चिनिन्थ्यो,” लेखिका केटी निकोलले बीबीसीको रेडियो वन न्यूजबीटलाई बताएकी छन्।

तर केटी थप्छिन्ः डायनाले आकृष्ट गर्ने ध्यान सधैँ सकारात्मक मात्र हुँदैनथ्यो।

“डायनालाई प्रेसमा आलोचना गरिन्थ्यो। उनी विश्वकै सबभन्दा प्रख्यात व्यक्ति थिइन् र सधैँ उनको वरपर अनि राजकुमार विलियम र ह्यारीको जीवनमा पापाराजीहरू घुमिरहन्थे।”

पत्रकार जेम्स ब्रुक्स यसमा सहमत छन्।

“कहिलेकाहीँ प्रेससँग उनको राम्रो सम्बन्ध रहन्थ्यो। तर अरू बेला प्रेस आफ्नो निजी जीवनमा निकै घुसेको भनेर उनले गुनासो गर्थिन्। एक किसिमको मिश्रित सम्बन्ध थियो।”

पछिल्ला वर्षहरूमा डायनाले व्यक्तिगत जीवनबारे अन्तर्वार्ता दिइन् र उनीमाथि समाचारमा छाउन खोजेको आरोप कतिपयले लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *