एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

प्रविधि व्यवसायी एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । मिडिया रिपोर्टहरुका अनुसार उनी जेफ बेजोसलाई उछिन्दै विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा पुगेका हुन् ।

टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति १८५ बिलियन अमेरिकी डलरभन्दा बढी पुगेपछि बेजोस पछि परेका हुन् । ब्लूमबर्गका अनुसार पछिल्लो समय मस्कको सम्पत्ति १३.६ बिलियन अमेरिकी डलरले बढेर १९५ बिलियन अमेरिकी डलर पुगेको छ ।

अमेजनका संस्थापकसमेत रहेका जेफ बेजोस भने १८५ बिलियन अमेरिकी डलरबराबरको सम्पत्तिसहित दोस्रो नम्बरमा रहेका छन् । बेजोस सन् २०१७ देखि लगातार धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए ।

यसै वर्ष इलेक्ट्रिक कार निर्माता टेस्लाको बजार मूल्य ह्वात्तै बढेको थियो । बुधबार मात्रै यसको टेस्लाको बजार मूल्य ७ सय बिलियन अमेरिकी डलर पुगेको छ । योसँगै टेस्लाको बजार मूल्य अन्य कार निर्माता कम्पनीहरु टोयोटा, फोल्क्सवागन, ह्युन्डाई, जीएम र फोर्ड सबैको मिलाउँदा हुने भन्दा पनि बढी पुगेको छ । आफू विश्वका धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा पुगेको समाचार सार्वजनिक भएपछि मस्कले ‘कस्तो अचम्म’ भन्दै प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *