उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले जापानी समुद्रमा बिहीबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो ।.

जापानी समुद्रमा दुईवटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तरले दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले धम्कीपूर्ण कार्यमा प्रयोग गरिएको जनाउँदै उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको छ ।

जापान र दक्षिण कोरियाले क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन् । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र हेर्ने कमान्डले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण ‘अवैध’ भएको दाबी गरेको छ । उत्तर कोरियाली कदम छिमेकी देशहरू र अन्तर्राष्ट्रिय समुदायका लागि खतराजनक रहेको कमान्डको प्रतिक्रिया छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने यसबारे आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । उत्तर कोरियाले मंगलबार परीक्षण गरेका छोटो दूरीका क्षेप्यास्त्रका कारण अमेरिका नचिढिने बताएका थिए । त्यस्ता छोटो दूरीका क्षेप्यास्त्र परीक्षणका लागि भने राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छैन ।

उत्तर कोरियाली व्यापारी मुन चोल म्युङलाई मलेसियाबाट अमेरिका सुपुर्दगी गरेपछि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । म्युङले बिलासिताका वस्तुहरू उत्तर कोरियालाई उपलब्ध पठाउन अमेरिकी वित्तीय प्रणालीबाट रकम हिनामिना गरेको आरोप लगाइएको छ । उक्त कदमपछि उत्तर कोरियाले मलेसियासँगको कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ ।

उत्तर कोरियाको पछिल्लो कदम अमेरिका र उसका साझेदारहरूका लागि टाउको दुखाइको विषय बनेको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरिया रुष्ट बनेको हो । उक्त सैन्य अभ्यासको विरोध गर्दै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले अमेरिकालाई ‘बारुदको दुर्गन्ध रोक्न’ यसअघि नै चेतावनी दिएकी थिइन् । त्यसको भोलिपल्ट अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रक्षामन्त्री लोएड अस्टिनले दक्षिण कोरियाको भ्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *