भारतको उत्तराखण्डमा आइतबार गएको हिमपहिरोसँगैको बाढीका कारण विद्युत् आयोजना गृहको सुरुङमा फसेकाहरूको उद्धार प्रयास जारी रहेको छ । अधिकारीहरूले बिहीबार सुरुङमा प्वाल पारेर फसेकाहरूको उद्धार प्रयास भइरहेको जनाएका छन् ।
उत्तराखण्डको तपोवनमा भएको क्षतिग्रस्त जलविद्युत् आयोजनाको सुरुङमा २५ देखि ३५ जना फसेका अनुमान उद्धारकर्ताहरूको छ । हिमपहिरोका कारण हिमनदी फुटेपछि आइतबार धौलीगंगा, अलकनन्दा– लगायत नदीमा पानीको वहाब ह्वात्तै बढेको थियो ।
जसका कारण दुइटा विद्युत् आयोजनाका ड्याम भत्कनुका साथै चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । बिहीबारसम्म हिमपहिरोमा परेका ३४ जनाको शव भेटिएको छ । घटनामा अन्य १७० भन्दाबढी अझै पनि हराइरहेका अधिकारीले जनाएका छन् ।
बेपत्ता भएकामध्ये अधिकांश विद्युत् आयोजनामा काम गर्दै आएका मजदुर हुन् । सरकारी अधिकारीले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारकार्य बिहीबार केही समय अवरुद्ध भएको जनाएका छन् । उनीहरूका अनुसार धौलीगंगा नदीमा पानीको सतह बढेपछि उद्धार कार्य रोकिएको हो ।