इन्डोनेसियामा बेपत्ता विमानको ब्ल्याक बक्स भएको ठाउँ पत्ता लाग्यो

इन्डोनेसियाली अधिकारीहरूले समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको बताएका छन् । यसअघि जलसेनाले उक्त विमान हराएको ठानिएको स्थान पत्ता लगाएको जनाएको थियो ।

श्रीविजय एयरजेटको बोइङ ७३७ विमान शनिबार दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६२ जना थिए । कालिमान्तान प्रान्तस्थित पोन्तियानकका लागि उडेको विमान चार मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित करिब एक दर्जन पानीजहाज परिचालन गरिएको थियो ।

विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् । उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजय एयरको भनिएको भग्नावशेष सम्हालेर राखेका जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार बिहानैबाट खोजी र उद्धारका प्रयास भइरहेका छन् ।

विमानको भग्नावशेषजस्ता देखिने सामग्रीहरू समुद्रमा फेला परेका जनाइएको छ । ‘हामीले दुई ठाउँमा संकेत प्राप्त गरेका छौं । त्यो ब्ल्याक बक्स हुन सक्छ,’ खोजी तथा उद्धार निकाय प्रमुखले भनेका छन् । अनुसन्धानकर्ताहरूले एउटा पाङ्ग्रा र विमानको मध्यभागका केही टुक्राहरूको भेटिएको जनाउँदै त्यसको विश्लेषण गरिरहेको बीबीसीले उल्लेख गरेको छ । ‘त्यस्तै उक्त क्षेत्रमा भेटिएका विभिन्न सामग्री राखिएका दुइटा झोला खोज तथा अनुसन्धान निकायले जकार्ता प्रहरीलाई दिएको प्रवक्ता युस्री युनुसले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *