अस्ट्रेलियामा खोप अभियान

अस्ट्रेलियाले कोरोना भाइरसविरद्धको खोप अभियान सुरु गरेको छ । दोस्रो विश्वयुद्धकी जीवित ८४ वर्षीया जेन मलेसियाकलाई भाइरसविरुद्धको फाइजर खोप दिएर आइतबार अभियानको सुरुवात गरिएको हो । 

त्यसलगत्तै प्रधानमन्त्री स्कट मरिसनले भाइरसविरुद्धको खोप लिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सरकारले खोप अभियान सोमबारदेखि सुरु गर्ने जनाएको थियो । तर फाइजर–बायोन्टेकद्वारा निर्मित खोपको पहिलो खोप करिब एक साताअघि अस्ट्रेलिया आइपुगेपछि सरकारले खोप कार्यक्रम एक दिनअघि नै सुरु गरेको हो ।

प्रधानमन्त्री मरिसनसँगै मुख्य स्वास्थ्य अधिकारी पल केली तथा केही स्वास्थ्यकर्मी तथा वृद्धवृद्धालाई रेखदेख गर्ने कर्मचारीले खोप लिएका छन् । प्रधानमन्त्री मरिसनले खोपप्रति विश्वास दिलाउन र जनतालाई कोरोना भाइरसविरुद्धको खोप महत्त्वपूर्ण र सुरक्षित भएको देखाउन आफूले खोप लगाएको बताएका छन् । आफ्नो निर्णयले खोपप्रति जनतामा विश्वास बढाउने र खोप अभियान सफल हुने मरिसनको भनाइ छ । उनले खोप अभियान सुरु भएको दिन ‘अस्ट्रेलियालीका लागि ऐतिहासिक’ भएको बताए ।

अधिकारीहरूले सोमबारदेखि खोप नीतिअनुसार प्राथमिकताका आधारमा खोप दिइने जनाएका छन् । एक साताभित्र ६० हजार जनालाई खोप दिने सरकारको लक्ष्य छ । त्यसका लागि देशभर विभिन्न १६ वटा केन्द्रहरू तोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *