ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडनले युद्धविराम तर्फको मार्ग खुलेको हेर्न चाहेको जनाएको छ। इजरेललको बलियो समर्थक अमेरिकाले हालसम्म त्यहाँको लडाइँबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा कुनै संयुक्त वक्तव्य जारी हुन दिएको छैन। राष्ट्रपति बाइडनको आह्वानको प्रतिक्रियामा प्रधानमन्त्री नेतान्याहुले चाहिँ इजरेली नागरिकहरूका निम्ति शान्ति सुरक्षा बहाली नभएसम्म सैन्य कारबाही जारी राख्ने दृढता व्यक्त गरेको इजरेली सञ्चारमाध्यमहरूले जनाएका छन्।
लडाइँ सुरु भएको १० औँ दिनमा पनि प्यालेस्टिनी विद्रोहीहरूद्वारा रकेट प्रहार अनि इजरेली सेनाद्वारा हवाई आक्रमणको सिलसिला जारी छ। बुधवार लेबननबाट चारवटा रकेट इजरेलमाथि प्रहार गरियो। बदलामा लेबननी क्षेत्रका कैयौँ निशानामा इजरेली सेनाले गोलाबारी गर्यो। यसले लडाइँलाई थप चर्काउने हो कि भन्ने स्पष्ट भएको छैन।
इजरेलस्थित संवाददात भन्छन्, हवाई हमलाको तेजीमा पनि केही कमी देखिएको छ। पूर्वी जेरुसलेममा हप्तौँसम्म इजरेल-प्यालेस्टीनी तनाव बढिरहेपश्चात् मुस्लिम तथा यहुदी दुवैको पवित्र धार्मिक स्थलमा झडपहरू भएपछि अहिलेको सङ्घर्ष सुरु भएको हो।