अमेरिकामा भारी हिमपात, २१ को मृत्यु

अमेरिकाको दक्षिणी भेगमा केही दिनदेखि जारी हिमआँधीमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

राष्ट्रिय मौसम सेवा (एनडब्लूएस) का अनुसार दक्षिण–पश्चिम टेक्सासदेखि उत्तर–पूर्वी म्यासाचुसेट्ससम्मको क्षेत्रमा ठूलो हिमआँधी आएको हो । टेक्सास, लुजिआना, केन्टुकी, नर्थ क्यारोलिना र मिजोरी राज्य सबैभन्दा बढी प्रभावित भएका छन् ।

एनडब्लूएसले १५ करोड जनसंख्या रहेका क्षेत्रमा चेतावनी जारी गरिएको छ । बीबीसीका अनुसार मंगलबारसम्म अमेरिकाको ७३ प्रतिशत भूभाग हिउँले ढाकिएको छ । आँधीका कारण टेक्सास राज्यमा मात्रै ४० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । टेक्सासको तापक्रम ३ दशकयताकै कम अर्थात् माइनस १८ डिग्री सेन्टिग्रेट पुगेको छ । गभर्नर ग्रेग अब्बोटले अवस्था निकै भयावह भएको जनाएका छन् । ‘यो अस्वीकार्य छ,’ उनले भने । उनले विद्युत् आपूर्ति बन्द भएको विषयमा छानबिन गरिने जनाएका बीबीसीले उल्लेख गरेको छ ।

सुगरल्यान्ड सहरमा घरभित्र बालेको आगो फैलिएपछि मंगलबार बिहान ३ बालबालिकासहित एक महिलाको मृत्यु भएको छ । त्यस्तै ह्युस्टन सहरमा पनि कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ । त्यसैगरी, ह्युस्टनकै राजमार्ग छेउमा २ जनाको शव भेटिएको छ । प्रहरीले उनीहरूको चिसोका कारण मृत्यु भएको जनाएको छ । नर्थ क्यारोलिनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । दक्षिणी टेनेसीमा पनि एक जना १० वर्षीय बालकको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *