अमेरिकामा राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिड-१९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन्।
आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर्स फर डीजिज कन्ट्रोल (सीडीसी) ले पहिलो पटक आग्रह गरेपछि बाइडनले त्यस्तो बताएका हुन्।
सीडीसीले अमेरिका कोरोनाभाइरसको “उच्च दर रहने समयमा प्रवेश गरेको” बताएको छ।
शुक्रवार अमेरिकामा २,५०० सङ्क्रमितको मृत्यु र झन्डै २,२५,००० जनामा सङ्क्रमण पुष्टि भएको छ।अहिलेसम्म त्यहाँ १.४३ करोड मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्। त्यस्तै मृत्यु हुनेको कुल सङ्ख्या २,७९,००० छ।ज्यानुअरी २० तारिखमा पदभार ग्रहण गर्न लागेका बाइडनले उक्त समारोहमा ठूलो भिड नहुने अपेक्षा गरेको बताएका छन्।