अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा आन्तरिक आतंकवादको जोखिम रहेको चेतावनी दिएका छन् । त्यस्तो जोखिम नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिहरूबाट रहेको सुरक्षा प्रमुखहरुको दाबी छ ।
अमेरिकी संसद् भवनमा जनवरी ६ मा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद् भवनमा गरेको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको आँकलन छ ।
उसले जारी गरेको एउटा सूचनामा ‘सरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरु आतंकवादी गतिविधिमा संलग्न हुन सक्ने’ जनाइएको छ । सरकारले सर्वसाधारणलाई त्यसरी सजग गराउने सूचना झन्डै एक वर्षको अन्तरालमा जारी गरेको हो । तर तत्कालका लागि त्यस्तो कुनै ठोस योजनाबारे जानकारी नभएको जनाइएको छ ।